आफ्नै पक्षको मिसाइल प्रहारबाट भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको खुलासा

समाचार

काठमाडौं- पाकिस्तानसँग हवाई झडप भएको दिनमा भारतीय मिसाइलले गल्तीपूर्वक आफ्नै देशको हेलिकोप्टरलाई निशाना बनाएको रहस्य खुलेको छ। सात जनाको मृत्यु भएको उक्त घटनाको जाँच प्रतिवेदनले यस्तो खुलासा गरेको हो।

उच्चस्तरीय जाँच प्रतिवेदनअनुसार जम्मू-काश्मीरको कडगाममा २७ फेब्रुअरीमा भारतीय वायुसेनाको एमआई-१७ हेलिकोप्टर भारतीय मिसाइलको निशाना परि दुर्घटनाग्रस्त बनेको हो।

प्रतिवेदनमा वायुसेनाका ५ अधिकारीलाई दोषी ठहर गरिएको छ। दोषीमा श्रीनगर बेसका चीफ अप्रेटिङ अफिसरसमेत रहेका छन्। उनीहरुको विरुद्ध कडा भन्दा कडा कारबाहीको सिफारिस जाँचबुझ समितिले गरेको छ।

हेलिकोप्टर दुर्घटना हुँदा ६ जना हवाई सेनिक र एक सर्वसाधारणको ‍मृत्यु भएको थियो। भारतीय वायुसेनाले उक्त जाँच प्रतिवेदनमाथि हालसम्म कुनै टिप्पणी गरेको छैन।

वायुसेना मुख्यालयले घटनातर्फ ध्यानाकर्षण गराउँदै कोर्ट अफ इन्क्वाइरी (सिओआई)का लागि आदेश गरेको थियो। अध्ययनमा हेलिकोप्टरमा आफ्नो मित्र वा दुश्मन पहिचान गर्ने प्रणाली भने बन्द रहेको पाइएको छ। यसैकारण जमिनमा रहेका अधिकारी र हेलिकोप्टरमा रहेका चालकदलका बीचमा सञ्चार र अन्य समन्वय हुन नसकेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यस प्रणालीको सहयोगमा हवाई रक्षा रडारबाट विमान वा हेलिकप्टर शत्रु पक्षको हो वा आफ्नो हो भन्ने पहिचान हुनसक्दछ।

भारतीय अनलाइन पत्रिका ‘द वायर’का अनुसार यसरी समन्वयको पनि अभाव हुँदा जमिनबाट आफ्नै हेलिकप्टरमाथि मिसाइल प्रहार हुन पुगेको थियो।

‘सैन्य कानुनअनुसार दोषीहरुले कडा भन्दा कडा कारबाही सामना गर्नुपर्ने हुनसक्छ,’ एक सैनिक अधिकारीले भने, ‘वायुसेनाका शीर्ष अधिकारीले घटनामा दोषी देखिएका व्यक्तिलाई दिइने सजायबारे निर्णय गर्नेछन्।’

वायुसेनाले गत मे महिनामा घटनाको गहनरुपमा जाँच गर्न श्रीनगर अड्डाका एयर अफिसरको सरुवा गरेको थियो।

घटनाको प्रारम्भिक जाँचमै यो खुलासा भएको थियो कि बालाकोट हवाई आक्रमणपछि २७ फेब्रुअरी बिहान रुसमा बनेको वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना भएको थियो। तत्कालीन समयमा भारत र पाकिस्तानबीच नौशेरा सेक्टरमा हवाई संघर्ष चलिरहेको थियो।

प्रारम्भिक जाँचमै स्थल सेनाले पाकिस्तानी हेलिकोप्टर भएको ठानी भुलवश मिसाइल प्रहार गरेर उक्त हेलिकोप्टर खसालेको पुष्टि भएको थियो।

गत १४ फेब्रुअरीमा जम्मू-काश्मीरको पुलवा जिल्लामा सिआरपिएफको सवारीमा भएको आत्मघाती हमलामा ४० जवानको मृत्यु भएको थियो। यस घटनापछि भारत र पाकिस्तानका बीचमा तनाव बढेको थियो।
त्यसपछि २६ फेब्रुअरीमा भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।

यसको ठिक एक दिनपछि भारत र पाकिस्तानका बीचमा भएको हवाई संघर्षमा पाकिस्तानले भारतको मिग-२१ विमान खसालेको दाबी गरेको थियो भने भारतले पनि पाकिस्तानको एफ-१६ विमान खसालेको दाबी गरेको थियो।

यही समयमा बडगाममा एमआई-१७ हेलिकोप्टर दुर्घटना भएको थियो।

भारत र पाकिस्तानको बीच भएको हवाइ संघर्षमा वायुसेनाका विङ कमान्डर अभिनन्दनलाई पाकिस्तानले पक्राउ गरेको थियो। पाकिस्तानले दुई दिनपछि उनलाई सकुशल फिर्ता गरेको थियो।

Leave a Reply