रिस किन उठ्छ ? यसरी गर्नुस् नियन्त्रण

समाचार

काठमाडाैँ । रिस वा क्रोध वास्तविक वा काल्पनिक जीवनको संघर्ष वा दुःखको निम्ति प्रतिक्रिया हो । यसको उत्पति थलो विगत वा वर्तमानका अनुभवसँग गाँसिएको हुनसक्छ भन यो भविष्यको स्वप्निल योजनासँग पनि जोडिएको हुन सक्छ । सामान्यतया रिसराग भनेको डरको अवधारणाले विकास भएको अवस्था पनि हो ।

जब केही सोचेको लक्ष्य वा कार्य पूर्ण हुँदैन तब हामी निराश हुन्छौँ भने हामीलाई त्यतिकै रिस उठ्छ । रिस एउटा भावनात्मक संवेग हो । जसको सही समयमा व्यवस्थापन वा नियन्त्रण हुन सकेन भने यसले हाम्रो जीवनको धेरै पक्षलाई नराम्ररी प्रताडित बनाउँछ । यद्यपि एक निश्चित समय र अवधिको लागि भने रिसले आत्मरक्षा तथा नयाँ विचारको निम्ति हामीलाई उत्प्रेरित समेत गरिरहेको हुन्छ । तर हामीले सम्झिनु नै पर्ने मुख्य पक्ष चाँहि सन्तुलन हो । हाम्रो मानसिक तथा भावनात्मक अवस्थालाई हामी कतिको सन्तुलित स्थितिमा राख्न सक्छौँ भन्ने हो ।

रिस भनेको सक्रिय अथवा निष्क्रिय भावना पनि हुन सक्छ । सक्रिय संवेग हुँदा व्यक्ति आफ्नो इच्छाएको कुरा वा व्यक्ति सँग उसले शाब्दिक तथा शारिरिक रुपमा समेत प्रस्तुत हुन सक्छ । जब संवेग निष्क्रियको आवेग हुन्छ तब मानिसले मौन रुपमा निष्क्रिय आक्रामक स्वाभाव देखाउने गर्छ ।

रिस आन्तरिक तथा बाह्य दुवै घटनाद्धारा निर्देशित हुन्छ । हामी अरु कोहीसँग अथवा सामाजिक परिस्थितिसँग रिसाउन सक्छौँ, जस्तै ट्राफिक जाम, राजनीतिक अस्थिरता, भ्रष्टचार आदि । त्यस्तै तपाइ नितान्त व्यक्तिगत घटना तथा समस्याहरुबाट पनि आवेगमा आउन सक्नुहुन्छ । जस्तै, कुनै पुरानो निरश घटना, प्रेममा कसैले दिएको धोका, राेग व्याधी आदि ।

वास्तवमा धेरै अनुसन्धानहरुको निष्कर्षमा रिसको संवेग मानवीय हो । यसलाइ राेक्न सकिँदैन र राेक्न हुन्न पनि । याे स्वस्थ्य भावना हो तर जब अनयिन्त्रित हुन्छ तब यो हिंस्रक बन्न पुग्छ । यसको बारेमा हामी बेलैमा सचेत भने बन्न अपरिहार्य हुन्छ ।

अरु संवेग जस्तै रिसले पनि हाम्रो शरीरको जैविक परिवर्तन गराउँछ । जब मानिस रिसाउँछ, मुटुको धड्कन बढ्छ, रक्तचाप वृद्धि हुन्छ, सासको गति तीव्र हुन्छ, मांसपेशी तन्कन्छ तथा विभिन्न हार्माेनहरुको उत्पादनमा असन्तुलन हुन्छ ।

मानिसहरु सामान्यतया अरुलाई सुझाव दिन सक्छन् । तर त्यही सुझाव आफ्नै जीवनमा लागू भएको छ कि छैन भन्ने अर्कै बहसको विषय होला । मानिस आफैँ निकै चेतनशील प्राणी भएकोले पनि रिसको सन्तुलनको निम्ति आफ्नै मनको चेतनशील तथा अचेतनशील प्रक्रियागत प्रणालीहरुको प्रयोग गरी रिस तथा क्रोधको व्यवस्थापन गर्न कोसिस गर्छ ।

रिस तथा क्रोधलाई दबाउने वा रुपान्तरित गरेर कुनै अर्थपूर्ण तथा उत्पादनमूलक कार्यमा लगाउने छनोट हामीसँग रहेको हुन्छ । रिस यस्तो संवेग हो जुन हरेक मानवको जीवनको समय समयमा विभिन्न बहानामा आइरहन्छ । यसलाई रोक्नु निकै चुनौतीपूर्ण मात्रै हाेइन, अस्वस्थकर अभ्यास समेत हो । तसर्थ यसको सही व्यवस्थापनलाई हामीले आत्मसात गर्नुपर्छ । मानवीय आवेग, क्रोध वा रिसलाई व्यवस्थापन गर्ने केही प्रणलाीहरु निम्नरुपमा उल्लेख छन् ।

व्यक्तिगत तथा समूहगत रिस व्यवस्थापन
यदि तपाइको रिसको तह निकै अनियन्त्रित तथा असन्तुलित छ भने तपाइले मनोविज्ञसँग परामर्श लिन आवश्यक हुन्छ । जसले रिसको कारणमा केही अन्य मानसिक समस्या जोडिएको छ कि भनेर निश्चित गर्न सघाउ पुर्याउँछ । तर रिस सामान्यरुपले आउने गर्छ भने आफैँलाई संयमित बनाउने । पानी पिउने, पुस्तक पढ्ने, लेख्ने वा साथीहरुसँग कुराकानी गर्ने आदि  जसलाइ सामूहिक अभ्यास भनिन्छ ।

आराम तथा शारिरिक अभ्यास
आराम गर्नुस् किनकी कहिलेकाहीँ कामको चापले पनि हामीलाई रिस उठाउन सक्छ । त्यस्तै शारिरिक अभ्यास, योग, ध्यानले हाम्रो मस्तिष्कमा डोपामाइन, सेरोटोनिन जस्ता रसायन उत्पादन गर्न सघाउ पुर्याउँछ जसले हामीलाई खुशी तुल्याउन मद्दत गर्छ । त्यस्तै आफूलाई बारबार भन्नुस् कि म शान्त बन्छु ।

स्वध्यायन
अक्सर हामी हरेक रिस, दुःखको कारण अरुमा थापर्ने गरेर आफू जिम्मेवारीबाट पन्छिन खोज्छौँ । यसो गर्नाले हामीलाई झन् तनावमा पार्ने गर्छ । तसर्थ भएका घटना, परिघटनाको सम्बन्धमा आफ्नो कमी कमजोरी के भयो, सुधार्ने कसरी वा म कहाँ चुकेँ जस्ता प्रश्न आफैसँग गरियो भने आउँदा दिनमा आफूलाई संयमित र धैर्य राख्न मद्दत गर्दछ ।

Leave a Reply