अर्को वर्ष संन्यास नलिए ४० वर्षसम्म खेल्छुः रोनाल्डो

खेलकुद

एजेन्सी । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबल करियरबाट संन्यास लिनेबारे नयाँ कुरा बताएका छन् । उनले अर्काे वर्ष सम्म संन्यास नलिए ४० वर्षसम्म खेल्ने बताएका छन् ।

‘टिभीआई’सँगको कुराकानीमा उनले आफ्नो फुटबल जीवनको अन्त्य अर्काे वर्ष पनि हुन सक्ने वा ४० वर्षसम्म पनि चल्न सक्ने बताए । ३४ वर्षीय पोर्चुगेली स्टार खेलाडी रोनाल्डो गएको सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालीयन क्लब युभेन्टसमा अनुबन्धन भएका थिए । युभेन्टसका लागि उनले पहिलो सिजन सम्पूर्ण खाले प्रतियोगिताका ४३ खेलमा २८ गोल गरेका थिए ।

पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डो खेलबाट संन्यास लिने कुरामा अनिश्चित छन् । “मैले संन्यासको बारेमा सोचेको छैन । हुनसक्छ मैले अर्को वर्ष फुटबलबाट संन्यास लिनसक्छु र म ४० वर्षसम्म पनि खेल्न सक्छु,” रोनाल्डोले भने । 

रोनाल्डोले फुटबल जीवनमा व्यक्तिगत रुपमा सबै प्रकारका अवार्डहरु जितिसकेका छन् ।  रोनाल्डोले रियल मड्रिडलाई ४ च्याम्पियन लिग र २ ला लिगा ट्रफी  जिताउन महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडलाई १ च्याम्पियन लिग र ३ प्रिमियर लिग जिताएका छन् । 

Leave a Reply