चिन्ताले ग्यास्ट्रिक हुन्छ

समाचार

नेपालीको साझा रोग भनेको ग्यास्ट्रिक हो । यो आफंैमा घातक रोग त होइन । तर, निरन्तर लामो समयसम्म सताइरहने भएकाले यो निकै झन्झटिलो र वाक्क लाग्ने रोगमा गणना गरिन्छ । यो रोगबारे कोही पनि अनविज्ञ छैनन् । तर, यही रोग लामो समयसम्म उपचार गरिएन भने डरलाग्दो अवस्था निम्तन पनि सक्दछ । सामान्य रूपमा पाचन प्रणालीमा देखा पर्ने यो रोग पेट दुख्नबाट सुरु हुन्छ । यो लामो समयसम्म रहेमा अल्सर र अल्सर बिग्रिएमा क्यान्सरै हुन सक्ने सम्भावनासम्म पु¥याउँछ ।

ग्यास्ट्रिक भनेको पेटमा देखा पर्ने लक्षण हो । चिकित्सकीय भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिन्छ । यो रोग लागेमा पेट खाली हुँदा मुख्य गरी पेटको माथिल्लो भाग दुख्न थाल्छ । खाना खाएपछि पेट फुल्न थाल्छ र उल्टी आउँला जस्तो हुन्छ । हाम्रो पेटमा खाना पचाउने विभिन्न रसहरू हुन्छन् । यी रसहरूले पेटमा उत्पन्न हुने एसिडलाई ब्यालेन्समा राख्छन् । तर, कहिलेकाहीँ खानाको असन्तुलनले पेटमा आवश्यकताभन्दा बढी एसिड उत्पन्न भइदिन्छ । खाना अधिक चिल्लो, पिरो, नुनिलो भएमा, अत्यधिक मादक पदार्थ तथा चुरोटको सेवन गरेमा, औषधि आदि सेवनको मात्रा बढी हुन गएमा पेटमा एसिड बढ्न जान्छ । कहिलेकाहीँ पेटमा हुने ब्याक्टेरिया बढ्न गई एसिडको मात्रा बढी ग्यास्ट्रिक हुन्छ । एसिड बढेमा पेट दुख्न थाल्छ ।
खानपानको असन्तुलनबाट ग्याट्रिक पैदा हुन्छ । यस अतिरिक्त तनावका कारण पनि ग्यास्ट्रिक हुन्छ । त्यसैले खानपान र तनावलाई व्यवस्थापन गर्ने कुरामा ध्यान दिनुपर्छ । भोको पेट बस्नुहुँदैन । पेटको समस्या छ भने व्रत पनि बस्नुहुँदैन । पानी पर्याप्त पिउनुपर्छ । यति कुरामा निकै ख्याल राखे पनि यदि पेटमा ब्याक्टेरियाको संख्या निकै बढेको छ भने त्यसले घाउ बनाएरै छाड्छ । यसका लागि औषधिबाहेक अर्को विकल्प पनि छैन ।
यस अतिरिक्त तनाव र पेटको निकट सम्बन्ध छ । पाचन प्रणालीका सबै भाग पेटमा नै हुन्छन् । अन्य अंगको तुलनामा तनावले पाचन प्रणालीमा धेरै असर गर्छ । तनावकै कारण टाउको र पेटमा दुखाइ बढ्न थाल्छ ।

Leave a Reply