किन प्रयोग गर्ने सनस्क्रिन? कति सुरक्षित छ यसको प्रयोग ?

समाचार

सामान्यत: फरक फरक मौसममा फरक फरक कुराको आवश्यकता पर्छ। जस्तो कि बर्खामा छाता, जाडोमा न्याना कपडा र गर्मीयामकालागि सायद सनस्क्रिन अत्यन्त जरुरी।

गर्मीमा नभइ नहुने बनेको सनस्क्रिन लगाउने प्रचलन भने केही वर्षयता मात्र अत्यधिक बढेको हो। सौन्दर्य बजारमा अनेकौं किसिमका विकल्प उपलब्ध छन्- हाम्रो छालाको हिसाबले, छालाको रंगअनुसार र आवश्यकताका हिसाबले पनि।

डाक्टरहरु पनि भन्छन्, घामका हानीकारक पराबैजनी किरणबाट हुने छालाको क्यान्सरबाट जोगिन पनि हामीले सनस्क्रिन लगाउन आवश्यक छ।

तर समय समयमा प्रश्न उठ्ने गरेको छ– हामीले प्रयोग गर्ने सनस्क्रिन कति सुरक्षित छ?

यसै वर्षको सुरुमा अमेरिकाको सरकारी निकाय एफडिए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) ले सनस्क्रिनमा उपयोग गरिने १६ मध्ये १४ रासायनिक तत्वलाई ‘सुरक्षित र प्रभावकारी तत्व’को सूचीबाट हटायो। एफडिएको यो कदमपछि उपभोक्तामाझ सनस्क्रिन मानव स्वास्थका लागि कति सुरक्षित छ भन्ने आशंका अझै बढेको बिबिसीले उल्लेख गरेको छ।

के सनस्क्रिन साँच्चिकै सुरक्षित छन् ?

भारतको राजधानी नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालका छाला रोग विशेषज्ञ (डर्मेटोलजिस्ट) रोहित वत्राका अनुसार सनस्क्रिनको काम नै हाम्रो छाला सुरक्षित राख्नु हो। उनका अनुसार सूर्यको पराबैजनी किरणको हानिकारक असरबाट सनस्क्रिनले छालालाई जोगाउँछ। सँगसँगै उनी के भन्न बिर्संदैनन् भने सनस्क्रिनको प्रयोग सन्तुलित मात्रामा मात्र गर्नुपर्छ।

रोहितको भनाइमा अहिले बजारमा जति पनि सनस्क्रिनहरु बिक्री भइरहेका छन्, ती सबैमा जिंक अक्साइड या टिटानियम अक्साइड हुन्छन्। यी दुवै तत्व धातुका कण (मेटल पार्टिकल) हुन्, जसले छालाको सतहमा एउटा तह बनाउँछन्। त्यस्तो तह जुन पछि पसिनाले र नुहाउँदा पानीले पखालिएर जान्छन्, तर छालाभित्र पस्दैनन्।

रोहित भारतीयको कुरा गर्छन् र भन्छन् कि अहिलेसम्म भारतमा सनस्क्रिन उपयोगका कारणले कसैलाई क्यान्सर भएका कुनै घटना बाहिर आएका छैनन्।

साथसाथै उनी यसबाट छालाको क्यान्सर हुँदै हुँदैन भनेर ठोकुवा पनि गर्दैनन्। उनी भन्छन्, ‘यसमा केही यस्ता रासायनिक तत्व हुन्छन्, जसले हानी पुर्‍याउन सक्छन्।’

म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको अंकोलोजी विभागकी डा.मीनू वालिया पनि सनस्क्रिनको उपयोगबाट क्यान्सर हुन्छ भन्नु वाहियात हो भन्छिन्।

‘यससम्बन्धी गरिएका धेरै अध्ययनहरुले सनस्क्रिनको प्रयोगले पराबैजनी किरणबाट सुरक्षित बनाउने र सनस्क्रिनको नियमित प्रयोगले छालाको क्यान्सर हुने आशंकासमेत निकै कम हुने देखाएका छन्,’ डा.मीनु वालिया भन्छिन्, ‘सूर्यको अल्ट्रा भ्वाइलेट किरण (ए र बी दुवै किरण) स्वास्थका लागि हानीकारक छन् र यसबाट क्यान्सर हुने जोखिम रहन्छ। यतिमात्र नभएर यी किरणले छालासम्बन्धी अनेकौं समस्या उत्पन्न गर्न सक्छन्।’

डा वालियाको भनाइमा सनस्क्रिनले घामका अल्ट्राभ्वाइलेट किरण छालाभित्र प्रवेश गर्न दिँदैन। यस्तोमा कुनै प्रमाण नभइकनै सनस्क्रिन लगाउँदा क्यान्सर हुन्छ भन्नु उचित नहुने डा वालिया बताउँछिन्। तर उनी के चाहिँ भन्छिन् भने कुनै कुनै सनस्क्रिन हाम्रो छाला अनुकूल नहुन सक्छ र छालामा नकारात्मक प्रतिक्रिया गर्न सक्छ।

‘भारतको तुलनामा युरोपेली मुलुकहरुमा छालाको क्यान्सर हुने सम्भावना धेरै रहन्छ’, डा वालिया भन्छिन्, ‘तर त्यहाँका बासिन्दा यसबारे साह्रै जागरुक छन्। त्यसैले त्यहाँ केही वर्षयता छालासम्बन्धी क्यान्सरका घटना निकै घटेका छन्।’

उनको भनाइका आधारमा सनस्क्रिन लगाउँदा हुने तीन फाइदा छन्।

पहिलो– छालाको क्यान्सर हुने सम्भावना न्यून पार्छ

दोस्रो– घामबाट डढ्नबाट जोगाउँछ

तेस्रो– बढ्दो उमेरको लक्षण अर्थात् छाला ढिलो चाउरी पर्छ

कस्तो सनस्क्रिन छान्ने ?

डा मीनू वालियाका अनुसार बजारमा अनेकौं खालका सनस्क्रिन पाइन्छन् तर आफ्नो छाला अनुकूल सनस्क्रिन छान्न आवश्यक छ।

सनस्क्रिन किन्दा एसपीएफ (SPF) हेर्न बिर्सनु हुन्न।

डा वालिया भन्छिन्, ‘सनस्क्रिन किन्दा स्किन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) मा ध्यान दिनु आवश्यक छ। एसपिएफ जति धेरै हुन्छ, त्यो सनस्क्रिनले घामका पराबैजनी किरणबाट त्यति नै धेरै सुरक्षा दिन्छ। सामान्यतया १५ एसपिएफको क्रिम सजिलै पाइन्छ तर योभन्दा पनि कम्तीमा ३० एसपीएफको सनस्क्रिन छान्नु उचित हुन्छ। बरु ३० भन्दा बढी एसपीएफको सनस्क्रिन किने पनि हुन्छ तर यसभन्दा थोरैको हुनुहुन्न।’

पराबैजनी किरणबाट जोगिन सनस्क्रिनको कुनै विकल्प छैन?

सामान्यत: कडा घाम लागेका बेला घर बाहिर निस्कनुअघि पराबैजनी किरणबाट जोगिनका लागि सनस्क्रिन लगाउने सुझाव दिइन्छ। तर सनस्क्रिन लगाउने बाहेक पनि केही विकल्प छन्, जुन उपायहरु अपनाउन सकिन्छ।

डा. वालिया पनि यसको साटो केही उपाय अपनाउन सकिने बताउँछिन्।

  • जति बेला घाममा पराबैजनी किरण अत्याधिक हुन्छन् (खासगरी कडा घाममा- दिउँसो), त्यसबेला घाममा नहिँड्ने वा ननिस्कने
  • शरीरलाई सकेसम्म ढाकेर हिँड्ने, शरीरका कुनै पनि भाग घाममा नपर्ने गरी कपडा लगाउने
  • घाममा निस्कँदा चश्मा, क्याप, ह्याट लगाउने

सनस्क्रिनले भिटामिन डी पनि रोक्छ?

हाम्रो शारीरिक विकासका लागि भिटामिन डी अत्यन्त आवश्यक पर्छ। यस्तोमा केही चिकित्सक के भन्छन् भने सनस्क्रिन लगाउँदा छालामा यसको तहले घामबाट आउने भिटामिन डी पनि रोक्छ र शरीरले भिटामिन डी पाउँदैन।

तर छाला रोग विशेषज्ञ (डर्म्याटोलोजिस्ट) रोहित बत्रा यो तथ्यमा फरक दृष्टिकोण राख्छन्। उनी भन्छन्, ‘तपाईंलाई पूरै जीउ छोपिने कपडा लगाएर भिटामिन डी शरीरले पाउँछ भन्ने लाग्छ भने तपाइँको सोचाइ गलत छ। भिटामिन डी पाउन कपडाले शरीर पूर्णतः ढाकेर घाममा उभिनु पर्छ भन्ने होइन। भिटामिन डी लिने सही तरिका शरीरको धेरैभन्दा धेरै भागमा घाम पर्नु हो। यसका लागि सनस्क्रिनले कुनै अवरोध गर्दैन।’

उता डा मीनू वालिया बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म घाममा नबसे पनि या पूरै कपडा लगाए पनि या सनस्क्रिन लगाए पनि त्यसबाहेकको समयमै घाम तापे पनि भिटामिन डी पाइने बताउँछिन्। source-Pahilopost

Leave a Reply