गण्डकी प्रदेशमा लोक सेवा गठनको बाटो खुल्यो

प्रदेश ४

गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन्।

विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो।

गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले साउन १२ गते प्रमाणित गरेको विधेयकलाई प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा साउन १४ गते पठाएको थियो।

प्रदेश प्रमुख कुँवरले आइतबार नै पाँच/पाँचप्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ। सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एकप्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संघीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक/एक प्रति पठाइएको बताए ।

Leave a Reply