कैलालीको तोलीगाउँमा कर्णाली नदीको कटान शुरु

प्रदेश ६

कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कास्थित तोलीगाउँमा कर्णाली नदीले जमीन कटान शुरु गरेको छ ।

पहाडी क्षेत्रमा भइरहेको निरन्तरकाे वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको हाे।

किसानले लगाएको उखु, तिल, मासलगायत बालीसमेत कटान गरेको छ । विगतका वर्षमा वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यसवर्ष वर्षायामको शुरुवातबाटै कटान भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

नदी कटानबाट उर्वर भूमि बालुवामा परीणत हुँदै गएको छ। कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो ।

बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तीव्र भएको हो । तटबन्ध सकिएको ठाउँबाटै नदीले यसवर्षसमेत कटान शुरु गरेको हो । कैलालीको क्षेत्रमा भने तटबन्ध निर्माण हुनसकेको छैन ।

श्रीलङ्कामा झण्डै ८० परिवार बसोवास गर्दै आएका छन् ।

Leave a Reply