ह्विलचियर विश्व यात्री कालिकोटमा

प्रदेश प्रदेश ६

कालिकोट : ह्विलचियरको साथमा कर्णाली भ्रमणमा आएका ओखलढुंगाका विश्व यात्री तेजबहादुर कार्की कालिकोट पुगेका छन्। कर्णाली पुगेर उनले राजमार्ग निकै डर लाग्दो भएको बताए। कर्णालीको मुगु, रारा ताल, जुम्लाहुँदै कालिकोटको सदरमुकाम मान्म बजार आएका कार्कीले मुगुदेखि कालिकोटसम्मको सडक निकै डर लाग्दो रहेको बताए।

करिब दुई दशक अघि गाडी दुर्घटनामा दुईवटै खुट्टा गुमाएका कार्कीलाई कालिकोटको सदरमुकाम मान्ममा भव्य स्वागत गरिएको छ। खाँडाचक्र नगरपालिकाले स्वागत कार्यक्रम गरी उनलाई स्वागत गरेको हो। उनले  कर्णाली राजमार्गको स्तोरोन्नति पहिलो आवश्यकता रहेको बताए। उनले भने, ‘कर्णाली राजमार्गमा गाडी दुर्घटना भएको खबर पटक पटक सुनेको छु। धेरैले ज्यान पनि गुमाएका छन्।’ साह्रै दु:ख लाग्छ।’

कडा चट्टानको बीचबाट साँघुरो सडक त्यसैमा पनि ठाउँ ठाउँमा भत्किएर जीर्ण भन्दै गएको भन्दै यसप्रति सम्बन्धित निकायको ध्यानाकर्ष हुन जरुरी रहेको उनले बताए। उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, कर्णालीका जनतालाई रेल र पानी जहाज चाहिएको छैन्। सामान्यतया नुन तेललगायतका दैनिक उपभोग्य सामान ढुवानी गर्ने सडक राम्रो बनाइदिनुस्। जनताले तपाईलाई धन्यवाद दिनेछन्।’

करिब २० वर्ष काकरभिट्टा­-काठमाडौं गाडी चलाएका कार्कीले कर्णाली राजमार्गमा चालकले निकै जोखिम मोलेर यात्रा गर्नु परेको बताए। उनले भने, ‘करिब २० वर्षसम्म मैले काकरभिट्टा­काठमाडौंसम्म गाडी चलाए। तर यहाँका सडक निकै जीर्ण हुँदा चालकले ज्यान जोखिममा राखेर सवारी चलाइरहेका छन्।’

२०५७ सालमा धादिङको जोगिमारामा दुर्घटना हुँदा त्रिशूलीमा खसे। तीन महिनापछि होसमा आउँदा दुवै खुट्टा गुमेको पाएँ। त्यतिबेला धादिङको धार्केमा माओवादीले एम्बुस थापेका रहेछन्। उक्त एम्बुस डिस्फोज गर्न नेपाल प्रहरी र नेपाली सेनाको टोली मेरो पछि आउँदै रहेछ। जब गाडी दुर्घटना भयो। प्रहरीले मलाई उद्धार गरेछन्। सायद मेरो पछि प्रहरीको गाडी नभएको भए म अहिले जिउँदो हुने थिएन्। 

उनले भने, म पहिले भन्दा अहिले धेरै खुसी छु। सपाङग भएको भए अहिलेसम्मै गाडी चलाएर बस्थे। गाडी दुर्घटना पछि अपांङग भएकाले विश्व शान्ति ह्विलचियर यात्रा सुरु गरेको छु। विश्वका ३४ मुलुक घुमिसकेको छु। नेपालका पनि ६४ जिल्ला पुगिसकेको छु। अब १३ जिल्ला घुम्न बाँकी छन्।’

‘कालिकोटबाट जाजरकोट जाँदैछु। ह्विलचियरबाटै विश्व यात्रा गरी गिनिजबुकमा नाम लेखाउने ठूलो लक्ष्य छ। दुई जनाको सहयोगमा ह्विलचियर यात्रा गरिरहेको छु, उनले भने, ‘मुलुकमा दुई तिहाई सरकार छ। कर्णाली राजमार्गको स्तोरोन्नति होस् ।फेरी कोही कसैले पनि सडक दुर्घटनामा ज्यान गुमाउनु वा अपाङग बन्नु नपरोस।’

ह्विलचियर यात्री कार्कीलाई खाँडाचक्र नगरपालिका कार्यबाहक प्रमुख पुष्प गिरी, प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीलगायतले माला र खादाले स्वागत गरेका थिए।    

Leave a Reply