घाँटी दुख्छ? नआत्तिनुहोस्

समाचार

हाम्रो समाजमा एक पटक घाँटी नदुखेका मानिस बिरलै होलान्। धुलो, धुवाँ र फोहोरमैलाको प्रदूषणले महामारीको रुप लिन लागेको बेला त यसको प्रकोप झनै बढ्दो छ। सडकमा पदयात्री एवं बाहन चालकहरुले धुलोबाट बच्न मकुन्डोधारी बन्न विभिन्न किसिमका मास्कहरु लगाउनुपर्ने बाध्यता बढ्दो प्रदूषण र त्यसको खराबीबाट बच्ने चेतावनीको सूचक मान्नुपर्छ। 

हुन त घाँटी दुख्नु, थुक निल्न गाह्रो हुनु, खाना निल्दा दुख्नु, घाँटीका ग्ल्यान्डहरु सुन्निनु, ज्वरो आउनु र पीडादायक खोकी लाग्नु एक साधारण रोग हो। तर यसलाई राम्ररी विचार नपुर्‍याई हेलचेक्र्याईं गरेमा जिन्दगीभर पछुताउनुपर्ने गरी मुटु एवं मिर्गौला जस्ता डरलाग्दा र खर्चिला रोग लाग्ने सम्भावना हुन्छ। त्यसैले घाँटीको दुखाइलाई समयमै निदान र उपचार गर्नुपर्छ। 

घाँटी दुख्नुको कारण उमेर हेरी विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य कारक तत्वहरुले हुनसक्छ। पाँच वर्ष मुनिका बालबालिकामा खासगरी भाइरस जस्तै इन्फ्लुएन्जा र विभिन्न किसिमका रइनो र एडेनो भाइरस (रुघाखोकी) का कारण घाँटी दुख्ने गर्छ। यो रोगमाथि थप जिवाणु (ब्याक्टेरिया) को आक्रमण नभएमा साधारण उपचार र निश्चित समय खासगरी एक हप्ताभित्र आफैं कम हुनेगर्छ।

पाँच वर्षदेखि १५ वर्ष उमेरका बालबालिकामा घाँटी दुख्नाको कारणमा स्टे«प्टोकोक्काई, हर्पेन्जाइना, डिप्थिरिया, माइकोप्लाज्मा, इन्फेक्सियम, मोनोन्युक्लियोसिस, (कोक्साकी भाइरस) र भिन्सेन्ट्रस एन्जाइना (फ्युजोब्याक्टेरिम्) छन्। 

माथि उल्लेखित विभिन्न जिवाणुबाट हुने रोगहरुमा स्टे्प्टोकोक्कल फाय्रिन्जाइटिस र डिप्थिरियाले धेरै बालबालिकाको ज्यानै लिने खतरा हुन्छ। खासगरी स्टेप्टोकोक्कल फाय्रिन्जाइटिसको उपचार समयमै भएन भने रुमायुटिक फिभर (बाथ ज्वरो) अनि रुमाय्टिक मुटुको रोग लाग्ने तथा मिर्गौलामा अतिक्रमण भई मिर्गौला नै काम नलाग्ने हुनसक्छ। त्यसैले यी रोगबारे विस्तृत छलफल गर्नु आवश्यक देखिन्छ। 
स्टे्प्टोकोक्कल फाय्रिन्जाइटिस हुँदा अचानक घाँटी दुख्ने, थुक अथवा खाना निल्दा दुख्ने, ज्वरो आउने, खानामा रुचि घट्ने र जाडो लागेर थरथर काँप्ने हुन्छ। घाँटीका ग्ल्यान्डहरु बढ्ने हुन्छ। यो  सरुवा रोग हो र रोगीका थुकका छिटा र खानामा स्टे्प्टोकोक्कस मिसिँदा सर्ने गर्छ। घाँटीको भित्री भागमा एकदम रातो हुने, सुन्निने, टन्सिल बढेर पिप जमेका थोप्लाहरु देखिने हुन्छ। 

हुन त यो रोग ३ देखि ५ दिनमा कम हुनेगर्छ तर यसका किटाणु र मुटु एवं मिर्गौलाका केही खास प्रोटिनहरु एकै किसिमका हुनाले किटाणुहरुलाई मार्न शरीरमा उत्पन्न किटाणु विरुद्धका तत्व एन्टिबडीले शरीरको आफ्नै भागको पनि नाश गर्छ। तसर्थ यस्तो क्रिया हुन नदिन यो रोगको प्राथमिक निदान र उपचार नितान्त आवश्यक छ। 

डिप्थिरिया अचेल भ्याक्सिनको प्रयोगबाट निकै नै कम देखिन थालेको छ। यसमा बच्चाको घाँटी दुख्ने र घाँटीमा सेतो जाली जस्तो देखिने हुन्छ। डिप्थिरिया लागेका बालकहरुलाई श्वास लिन पनि गाह्रो हुन्छ र यो रोग लागेको शंका लाग्नेबित्तिकै अस्पताल लगिहाल्नुपर्छ। 

स्टे«प्टोकोक्कल फाय्रिन्जाइटिस लागेका बिरामीको उपचार सजिलो छ। पेनिसिलिन इन्जेक्सन, पेनिसिलिन चक्की वा पेनिसिलिनबाट बनेका विभिन्न क्याप्सुलहरु दिएमा ठिक हुन्छ। पेनिसिलिनको एजर्ली भएकालाई इरिथ्रोमाइसिनले पनि ठिक गर्छ। यसका साथै तातो नुनपानीले कुल्ला गर्नु, तातो सुप एवं अन्य झोल पदार्थ खान दिने गर्नाले आराम हुन्छ। यो रोग लागेका व्याक्तिको जुठो अरुलाई नख्वाउनाले सर्ने सम्भावना कम हुन्छ।  

वयस्क र बृद्ध तथा उच्च रक्तचाप भएका व्यक्तिलाई घाँटी दुख्यो भने मुटुका धमनीको रोगको एक लक्षण, एन्जाइना पनि हुनसक्छ। यदि हिँड्डुल गर्दा घाँटी दुख्ने, रोक्किँदा कम हुने, घाँटी दुखाइको साथसाथै स्वाँस्वाँ आउने, ठण्डा पसिना आउने, मुटुको गति बढ्ने जस्ता लक्षण देखिएमा तुरुन्तै अनुभवी तथा विशेषज्ञ डाक्टरको सल्लाह लिनुपर्छ। swasthyakhabar.com

Leave a Reply