आत्मघाती गोलले सरस्वती फाइनलमा

खेलकुद


काठमाडौं । एक मात्र आत्मघाती गोलको सहयोगमा ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्वन्द्वी ग्रान्डमास्टर जावलाखेललाई पराजित गर्दै सरस्वती युवा क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरि नैकापस्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा सरस्वतीले जावलाखेलमाथि १–० को जित निकाल्दै उपाधिनजिक पुगेको हो । अब सरस्वतीले उपाधिका लागि शुक्रबार हुने एपीएफ र च्यासलबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

सरस्वतीको जितको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा नै जावलाखेलका डिफेन्डर गौतम श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेका थिए । गौतम र गोलरक्षक अरुण तामाङबीच तालेमेल नमिल्दा गौतमको प्रहारले आफ्नै पोस्टको दिशा लिएको थियो । गौतमले ब्याकपास दिँदा गोलरक्षक पोजिसन बाहिर रहेको थियो ।

सुरुमै पछि परेपछि जावलाखेलले सरस्वतीलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । खेलको चौथो मिनेटमा ड्यानियल बेकेको प्रहार आकासियो । २१औं मिनेटमा गोलरक्षक अरुण तामाङले फालेको लामो पासलाई फोडे फोफानाले नियन्त्रणमा लिँदै बक्सबाहिरबाट गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरिँदा बराबरीबाट चुक्यो ।

३६औं मिनेटमा टिनाले गोल गरे पनि रेफ्रीले अफसाइडको इसारा गरे । पहिलो हाफको इन्जुरी समयमा कप्तान राजकुमार घिसिङको फ्रिकिक प्रहार पोस्टबाट थोरै बाहिरिँदा अग्रता दोब्बर पार्ने मौका खेर गयो । दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल भएन । ४९औं मिनेटमा अमित लामाको पासमा सुजित बुढाथोकीको प्रहार जावलाखेलका गोलरक्षकले मुस्किलले बचाए । ५९औं मिनेटमा अमित लामाको फ्रिकिकलाई गोलरक्षकले पुनः मुस्किलले जोगाए । ६३औं मिनेटमा सुजित बुढाथोकी वान भर्सेस वानको अवस्थामा चुके । ६४औं मिनेटमा ड्यानियलको प्रहार बाहिरियो । ७२औं मिनेटमा ड्यानियलको बक्सभित्रको प्रहार पोस्टमा लागेर फर्कंदा जावलाखेल बराबरी गोल गर्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा त्यही आत्मघाती गोल नै सरस्वतीलाई फाइनल पुग्न पर्याप्त बन्यो । सरस्वतीका ओको बोता खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

प्रतियोगितामा शुक्रबार विभागीय नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । खेल दिनको ठीक ३ः३० बजे नैकापस्थित नैकाप फुटबल मैदानमा हुनेछ । प्रतियोगिताका विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply