बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा विमानस्थल बन्छ : मन्त्री बाँस्कोटा

समाचार

काभ्रेपलाञ्चोक, बैशाख १५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपाको नागीडाँडा एयरपोर्टका लागि उपयुक्त नभए धुलिखेल हुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका हुन् ।

काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारे सरकार पछि भने नहटेको भन्दै मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको जनाए । उनले भने, ‘डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ, अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौं ।’

आन्तरिक विमानस्थलका लागि गत साल बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले भने, ‘आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ ।’त्यसैगरी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले नगर समृद्ध बनाउन व्यवसायी र स्थानीय तहबीच सहकार्य गरी अघि बढ्नुपर्ने बताए । त्यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण वैद्यले सरकार औद्योगिक क्षेत्रमा सकारात्मक भएकामा खुशी व्यक्त गर्दै सरकार नवनिर्माणसँगै समृद्धिको बाटोतर्फ लम्किएकाले केही वर्षमै विकासको प्रतिफल देखिने बताए ।

Leave a Reply